काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।
मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल हुने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व तथा राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले लोकतन्त्रमा जनताको अभिमत लिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएको उल्लेख गर्दै आगामी निर्वाचनलाई सफल बनाउनु सबैको साझा दायित्व भएको बताए।
राष्ट्रपति पौडेलले भने, “सुशासनमार्फत प्राप्त समृद्धिबाट नै देशमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता मजबुत हुन्छ। लोकतन्त्रमा जनताको अभिमत लिने प्रमुख माध्यम निर्वाचन भएकाले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न म सबैलाई आह्वान गर्दछु।”
२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै पक्ष एक भएर लाग्नुपर्ने राष्ट्रपतिको भनाइ छ।




















