काठमाडौं । सडकमा हिँडिरहेका एक वृद्धमाथि कार चालकले कुटपिट गरेको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
बीच सडकमा कार रोकेर पैदलयात्री वृद्धलाई मुक्का प्रहार गरिएको दृश्य देखिने भिडिओ सार्वजनिक भएको छ । भिडियो नारायणगोपाल चोक चक्रपथ जस्तो देखिन्छ भने उक्त घटना किन, कहिले हो भन्ने खुलेको छैन।
भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले वृद्धमाथि कुटपिट गर्ने कार चालकको खोजी भइरहेको बताएका छन् ।
भिडिओ हेरिएको र कुटपिट गर्ने चालकको पहिचान गरी कानुनी दायरामा ल्याउने काम भइरहेको छ उनले बताएका छन् ।
भाइरल भिडिओमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लिएका एक अधवैँशे पुरुषले सडक पार गर्दै गरेका वृद्धलाई कुटपिट गरेको देखिन्छ। साथै, एक महिलाले गाली गर्दै चप्पलले हान्ने खोजेको हाउभाउ दृश्य पनि देखिएको छ । सार्वजनिक स्थलमा वृद्धमाथि किन कुटपिट गरिएको हो भन्ने कारण खुल्न सकेको छैन।




















