काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्।
मंगलबार चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट सुरु भएको परिवर्तनको भावनालाई निर्णायक परिणाममा रूपान्तरण गर्न सोवितालाई उम्मेदवार बनाइएको स्पष्ट पारे। उक्त निर्णय व्यक्तिगत नभई सिंगो पार्टीको सामूहिक निर्णय भएको उनले बताए।
उनले भने, “चितवन त्यस्तो भूमि हो, जहाँबाट रगतको थोपा नबगाई परिवर्तनको बिगुल फुकियो। यहाँ भएको परिवर्तनलाई निर्णयमा बदल्न सोविता चितवन आउनु आवश्यक थियो। सोवितालाई चितवन ल्याउने निर्णय सिंगो रास्वपाको हो।”
लामिछानेका अनुसार सोविता गौतम एउटा नाम मात्र नभई वर्तमान पुस्तालाई प्रेरणा दिने साहसी महिला हुन्। “सोवितालाई उम्मेदवार बनाउने विकल्प धेरै ठाउँमा थियो, तर उनी सिंगो देशकी छोरी भएकाले चितवनबाट उम्मेदवार बनाइयो। चितवनबाट राष्ट्रिय सन्देश दिनुपर्ने आवश्यकता थियो,” उनले भने।
सम्बोधनका क्रममा लामिछानेले यसपटक मत परिवर्तन गर्ने समय आएको पनि बताए। उनले जनताप्रति कृतज्ञता व्यक्त गर्दै भने, “अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो। म कारागारमा पर्दा आँसु बगाउनुभयो। म ऋणी छु। मसँग बाँकी सत्य र इमान मात्रै छन्, त्यही बलमा सक्षम साथीहरूलाई संसद् पुर्याउनेछु।”
उनले यसपटकको निर्वाचनमा देश र जनताले जित्ने दाबी गर्दै भने, “यसपटक देशले केवल मतपरिणाम खोजेको छैन। सरकार र पार्टी बदल्नेभन्दा पनि जनताको जित हुने निर्वाचन चाहिएको छ। यसपटक देशले जित्छ, जनताले जित्छ।”




















