काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईं लाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो।
आजपाका प्रवक्ता चन्द्रभूषण साहले विज्ञप्ति जारी गर्दै रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित तथा निस्तेज गर्ने मनसायले पटक–पटक पक्राउ गर्ने र छोड्ने कार्य गर्नु सरकारको मर्यादा र परिपक्वताविरुद्ध मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो।”
आजपाले मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा असहमतिको अधिकारमाथि प्रत्यक्ष आघात पुग्ने गतिविधि नगर्न सरकारलाई आग्रह गर्दै प्रतिशोधपूर्ण गिरफ्तारी तुरुन्त अन्त्य गरी प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ।





















