काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टी सत्तामा हुँदा राजनीतिक नियुक्ति र आकर्षक पदका लागि नेतृत्वलाई फोन गर्नेहरू अप्ठ्यारो परिस्थितिमा भने सम्पर्कविहीन हुने गरेको टिप्पणी गरेका छन्।
एमाले जनसंगठन समन्वय प्रमुखसमेत रहेका भट्टराईले ललितपुरमा आयोजित पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अनुकूल र प्रतिकूल दुवै अवस्थामा संगठनमा साथ दिने व्यक्तिहरूबाटै संगठनको साख जोगिने बताएका हुन्।
उनले पार्टीको सरकार बनेपछि राजनीतिक नियुक्ति तथा आकर्षक जिम्मेवारीका लागि नेतृत्वकहाँ धाउनेहरूको भीड लाग्ने गरेको तर पार्टीलाई अप्ठ्यारो पर्दा नेतृत्वले फोन गर्दा कतिपयले फोनसमेत नउठाउने गरेको बताए।
‘आफ्नो पार्टीको सरकार बन्यो भने राजनीतिक नियुक्ति र गतिला ठाउँ माग्नेहरूको भिड लाग्छ। त्यसबेला नेतृत्वमा बसेको मान्छेले फोन उठाएन भने ठूलो आलोचना खेप्नुपर्छ। तर अप्ठ्यारो समयमा नेतृत्वले फोन गर्यो भने केही मान्छेहरू फोन उठाउँदैनन्,’ भट्टराईले भने।
उनले नियुक्तिका लागि गरिएको फोन नेतृत्वले व्यस्तताका कारण उठाउन नभ्याउँदा आलोचना हुने गरे पनि संकटका बेला नेतृत्वको फोन नउठाउनेहरूलाई भने सामान्य रूपमा लिने गरिएको टिप्पणी गरे।
राजनीति पनि मानिसको जीवनजस्तै भएको उल्लेख गर्दै उनले अनुकूलता र प्रतिकूलता निरन्तर आइरहने बताए। कुनै व्यक्ति वा संस्था सधैँ अनुकूल अवस्थामा मात्र रहन नसक्ने भन्दै दुवै परिस्थितिको सामना गर्न सक्ने संगठन नै बलियो हुने उनको भनाइ थियो।
भट्टराईले पछिल्लो ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकार सञ्चालन गर्ने अवसर पाए पनि उल्लेखनीय काम गरेको दाबी गरे।
उनका अनुसार २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरू अघि बढाइरहेका बेला भूराजनीतिक चलखेलका कारण सरकारले पूर्ण कार्यकाल काम गर्न नपाएको हो।




















