काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको छ।
महासंघको आह्वानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरूले धर्ना दिएका हुन्।
आन्दोलनको दोस्रो चरणअन्तर्गत महासंघले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको भन्दै विरोधका कार्यक्रम अघि बढाएको हो।
महासंघकी अध्यक्ष निर्मला शर्माका अनुसार समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेहरूमाथि कारबाही नभएको विषयमा महासंघले सरकारमाथि दबाब सिर्जना गरिरहेको छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषय पनि आन्दोलनका प्रमुख एजेण्डा रहेका छन्।
महासंघले सार्वजनिक गरेको दोस्रो चरणको कार्यक्रमअनुसार आज रास्वपा कार्यालयमा धर्ना दिइएको छ। भोलि नेपाली कांग्रेस, पर्सि नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघरमा तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर विरोध प्रदर्शन गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्।
महासंघले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि आन्दोलन जारी राख्ने जनाएको छ।




















