काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार हिजो साँझ करिब ५ः४० बजे अमलेखगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए।
प्रहरीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुल पारि जंगल छेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए।
त्यसपछि प्रहरीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गरे पनि चालकलाई फेला पार्न सकेन। भने, चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइल फेला परेको थियो।
प्रहरीले नियन्त्रणमा लिएको उक्त गाडीको पछाडिको डिक्की जाँच गर्दा लुकाइछिपाइ राखिएको २३७ किलो १७० ग्राम लागुऔषध गाँजा बरामद भएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















