काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।




















