बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ ।
हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालको विभिन्न जिल्ला र भारतबाट समेत सयौँ साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैचामा बिताइरहेका छन् ।
हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधुसन्त सहभागी भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए ।
‘रातको समयमा पनि साधुसन्त मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ’, अध्यक्ष वैश्यले भने, ‘मेलामा प्रत्येक दिन उपस्थित साधुसन्त तथा हडियाबाबाका भक्तजनलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।’
हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट पनि साधुसन्त, महत्मा आउने गरेको जानकारी दिए ।
उनका अनुसार मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रम आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खानानास्तालगायतको व्यवथापन गर्ने गरिएको छ ।
मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिकोे व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिए ।
करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।
करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहीआएकाले बाँके र भारतका विभिन्न क्षेत्रबाट साधुसन्त तथा हडियाबाबाका भक्तजन प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष वैश्यले बताए ।
मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगैँचा रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
रामलीला धार्मिक नाटक पनि मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको ठूलो सङ्ख्यामा सहभागी हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न टाढा टाढाबाट झक्तजन आउने गरेको स्थानीय अगुवा सुधिर गुप्ताले बताए ।



















