काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गरे । विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने उनको भनाइ छ। उनले सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्षमा फैसला भयो भन्दै दाबी गर्नुको औचित्य नरहेको स्पष्ट पारे।
महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्दै महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
कांग्रेसको देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको महतले बताए।




















