काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।
नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उनले विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गरे । यसप्रति पार्टीका नेता तथा कार्यकर्ता सचेत र सतर्क हुनुपर्ने उनको भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्ने बताए । प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि नेपाललाई विवादमा पार्न नहुने उनले उल्लेख गरे ।
नेपालको भौगोलिक अवस्थाले समेत असंलग्न परराष्ट्र नीतिको आवश्यकतालाई निर्देशित गरेको भन्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालले आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताए । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै उनले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गरे । कार्यकर्ता प्रशिक्षण पार्टी निर्माणको महत्वपूर्ण आधार भएकाले समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।
सहसंयोजक नेपालले नेपाल सगरमाथा र बुद्धको देश भएको उल्लेख गर्दै बुद्धको शान्तिको सन्देश विश्वभर प्रसार गर्नुपर्ने बताए । नेपालको गौरवशाली इतिहासबारे अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराउन आवश्यक रहेको उनको भनाइ थियो ।
जनताको हितमा समर्पित हुने पार्टी कम्युनिष्ट पार्टी नै रहेको उनले दाबी गरे ।




















