काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हामी तयार छौं’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ हुनुपर्ने बताएका हुन्।
उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्न र यसअघि अनुसन्धानका क्रममा थन्किएका फाइलहरू पुनः अघि बढाउन सरकारलाई आग्रह गरे।
थापाले नेपाली कांग्रेस सम्पत्ति छानबिन र अनुसन्धानका विषयमा पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै यस विषयमा जनतामाझ स्पष्ट सन्देश पुर्याउन स्थानीय तहका प्रतिनिधिहरूलाई निर्देशनसमेत दिए।
उनका अनुसार सम्पत्ति छानबिन तथा अनुसन्धानका सबै प्रक्रिया प्रचलित कानुनअनुसार हुनुपर्छ। सरकारी निकायहरूले कानुनी प्रक्रियाको पालना गर्दै निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
कांग्रेसमा आबद्ध कुनै व्यक्ति गलत कार्यमा संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको बताउँदै थापाले गलत नगरेका व्यक्तिलाई राजनीतिक पूर्वाग्रह राखेर दुःख दिने कार्य भने स्वीकार्य नहुने धारणा राखे।
उनले यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सबै राजनीतिक दलका नेताहरूको हकमा पनि लागू हुनुपर्ने बताए।
कुनै नेता वा मन्त्रीको नाम कुनै विवादमा जोडिँदैमा स्वतः दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै थापाले गल्ती गरेको भए जोसुकै व्यक्तिमाथि पनि कानुनअनुसार अनुसन्धान र कारबाही अघि बढाउनुपर्नेमा जोड दिए।
यही सन्देश लिएर जनतामाझ जान उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।




















