काठमाडौं । म्यानमारमा विवाह समारोह चलिरहेका बेला सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य ३५ जना घाइते भएका छन्।
उद्धारकर्मीहरूका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मो बाइ गाउँमा रहेको विवाह समारोहस्थललाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो। आक्रमणमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३५ जना घाइते भएका छन्।
यसअघि बिहीबार मध्य म्यानमारको मागवे क्षेत्रस्थित इन योन गाउँमा रहेको एक विद्यालयमा पनि सेनाले हवाई आक्रमण गरेको थियो। म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी) का अनुसार उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु तथा शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको ज्यान गएको थियो।
यद्यपि, सैन्य नेतृत्वको सरकारले यी आक्रमणबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, शनिबार साँझ पश्चिमी म्यानमारको राखिन राज्यस्थित म्रौक-यू सहरमा पनि सेनाले हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ। स्थानीय समयअनुसार राति आवासीय क्षेत्रमा भएको बम विस्फोटमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
उक्त क्षेत्र म्यानमारको सैन्य शासनविरुद्ध संघर्षरत शक्तिशाली विद्रोही समूह अरकान आर्मी (एए) को नियन्त्रणमा रहेको छ।
सन् २०२१ मा तत्कालीन नेतृ आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमार लामो समयदेखि गृहयुद्धको चपेटामा छ। त्यसयता देशका विभिन्न क्षेत्रमा सैन्य हवाई आक्रमणका घटना निरन्तर भइरहेका छन्।




















