काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
सर्वोच्चले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।
त्यस्तै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ। यद्यपि, आदेशको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।
सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको मिति तोक्नेछ।




















