काठमाडौँ । प्रहरीले २२ करोड रुपैयाँ बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार हवाई मार्गबाट लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा विभिन्न व्यक्तिको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन्। गत कात्तिक २८ गते थाइल्यान्डबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा उनी यसअघि दुई पटक लाओसबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ। पहिलो पटक हवाई मार्गबाट आएका उनी दोस्रो पटक भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए।
उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमणसमेत गरेको पाइएको छ। प्रहरीका अनुसार पक्राउ परेका तिघरी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न व्यक्ति हुन्।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीबाट बरामद भएको साढे पाँच किलो सेतो हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको छ। बरामद लागुऔषध भारत पुर्याउने उद्देश्य रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।




















