काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पञ्चायतकालमा आफूलाई आश्रय दिने रनधता पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
९१ वर्षीया पोखरेलको बिहीबार साँझ भक्तपुरको लोकन्थलीस्थित निवासमा निधन भएको थियो। शुक्रबार बिहान पशुपति आर्यघाट पुगेर ओलीले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका हुन्।
पञ्चायतकालमा भूमिगत राजनीतिक जीवन बिताउँदा पोखरेलले ओलीसहित ईश्वर पोखरेल, अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायत वामपन्थी नेतालाई दोलखामा आश्रय दिएकी थिइन्।
पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न कानुनमन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायत विभिन्न दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रहेकी उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।





















