काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यससँगै वर्तमान आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाइएको छ। मन्त्रिपरिषद्ले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको छ।
पछिल्लो समय सरकार र प्रहरी नेतृत्वबीच देखिएको विवाद तथा विभिन्न घटनाक्रममा कार्कीको भूमिकामाथि प्रश्न उठेपछि सरकारले उनलाई आईजीपीबाट हटाउने निर्णय गरेको हो।
कार्कीलाई महानिरीक्षकबाट हटाउन निकै पहिले देखि नै सरकारले कसरत गरिरहेको थियो । उनलाई हटाउनके लागि निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप लगाइएको थियो। त्यस्तै, प्रहरीको कमान्ड नियन्त्रण र प्रधानमन्त्रीको सचिवालयबाट आउने निर्देशनका आधारमा प्रहरी परिचालन हुने गरेको भन्दै उनको आलोचना हुँदै आएको थियो।
गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गरिएको घटनामा पनि कार्कीलाई विवादमा पारिएको थियो । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा पत्रकार पक्राउ गरिएको विषय सार्वजनिक भएपछि उनको भूमिकामाथि थप विवाद भएको थियो।
सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत सरुवा गरी विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको बताइएको छ।
सुशीला कार्की नेतृत्वको सरकारले गत वर्ष कात्तिक २४ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि जिम्मेवारी सम्हालेका थिए। जेनजी आन्दोलनका क्रममा २४ भदौमा उनले काठमाडौं उपत्यकाको प्रहरी कमान्ड सम्हालेका थिए।




















