काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीले १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो।
सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुसार अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको कार्यालयले जनाएको छ।
उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने हातहतियारसम्बन्धी गतिविधिमा संलग्न आठ जना पक्राउ परेका छन्। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सीमा अतिक्रमण नियन्त्रणका लागि दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानमा अतिक्रमित ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।
यसैगरी, सीमा क्षेत्रका २०४ स्थानमा गरी ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको छ।
सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सशस्त्र प्रहरीले उक्त अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरेको छ। साथै, १४१ वटा सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ वटा पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।
सरकारले सीमा सुरक्षा, अवैध कारोबार नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा सीमावर्ती क्षेत्रमा नागरिकको सुरक्षा र सहजीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।




















