काठमाडौं । पहिरो र लेदोका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ ।
शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो र लेदो सडकमा थुप्रिएपछि शनिबार बिहानदेखि नै यस मार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
प्रहरीका अनुसार काभ्रेको रोसी गाउँपालिका–७ स्थित गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको छ । वर्षा रोकिएपछि सडक खुलाउने काम सुरु गरिएको हो ।
यसैबीच, बाढीपहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । ललितपुर र मकवानपुर खण्डमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित पान्दु र टार्कुचेमा पहिरो खसेपछि कान्ति लोकपथमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।




















