काठमाडौं । निखिल उप्रेतीको कमब्याक फिल्म ‘आचार्य’ बक्सअफिसमा अपेक्षाअनुसार सफल हुन सकेन। कमजोर व्यापारका कारण फिल्म अहिले हलबाट समेत उत्रिएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्टमा ‘आचार्य’ समावेश छैन।
प्रदर्शनको अघिल्लो साताको आइतबारसम्म फिल्मले १ करोड ६२ लाख ९१ हजार १८६ रुपैयाँ कमाएको थियो। यही रकम फिल्मको कुल बक्सअफिस कलेक्सन बनेको छ।
करिब १० वर्षपछि निखिल उप्रेतीको कमब्याक फिल्म भएकाले ‘आचार्य’ ले प्रदर्शनअघि दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो। तर, सुरुवाती हाइपलाई हलसम्म दर्शक तान्ने सफलतामा बदल्न फिल्म असफल रह्यो।
निखिल उप्रेतीकै लेखन तथा निर्देशन रहेको ‘आचार्य’ एक्सन जनरामा निर्माण गरिएको हो। फिल्ममा निखिलसँगै पूर्णिका सिजापती, दीपजंग राणा र रोहित चौधरीलगायत कलाकारको अभिनय छ। पूर्णिकाले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
‘आचार्य’ हलबाट बाहिरिँदै गर्दा असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘बाः एक योद्धा’ ले भने बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ। सुरुवाती दिनमा सुस्त देखिएको फिल्मले क्रमशः दर्शकको साथ पाउँदै व्यापार बढाएको हो।
फिल्मले गत आइतबारसम्म ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ कलेक्सन गरिसकेको छ। यससँगै ‘बाः एक योद्धा’ को कमाइ ‘आचार्य’ को तुलनामा झन्डै दोब्बर पुगेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बाः एक योद्धा’ पारिवारिक कथावस्तुमा आधारित फिल्म हो। यसले सन्तानको भविष्य निर्माणका लागि बुवाले गर्ने त्याग, संघर्ष र समर्पणको कथा प्रस्तुत गर्छ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा मुख्य भूमिकामा छन्। कथासँगै पटकथा पनि निर्देशक लम्सालले नै तयार पारेका हुन्।
एकातिर निखिल उप्रेतीको बहुप्रतीक्षित कमब्याक फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा अर्कोतिर पारिवारिक कथामा बनेको ‘बाः एक योद्धा’ ले दर्शकको साथ पाउँदै बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।



















