काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ७५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला रहेका छन्। त्यस्तै, अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति सुव्यवस्था कायम राख्न, आपराधिक गतिविधिको रोकथाम गर्न तथा नियन्त्रणलाई प्रभावकारी बनाउन विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको जानकारी दिए।
सार्वजनिकस्थल र यातायातमा विशेष निगरानी
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला र हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दीजस्ता गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अदालतबाट सजाय तोकिएका र फरार प्रतिवादी पनि पक्राउ
स्वीप अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन्। त्यस्तै, विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अदालतबाट सजाय तोकिएका तथा चालु मुद्दामा फरार रहेका गरी १२ जना पक्राउ परेका हुन्।
सार्वजनिक यातायात, भीडभाड हुने स्थान र सेवाग्राहीको बाक्लो उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि तथा गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




















