काठमाडौं । असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका बाढी, पहिरो तथा अन्य विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सो अवधिमा विपद्का घटनामा परी १२ जनाभन्दा बढी बेपत्ता छन्। मनाङमा हिमपहिरोमा परेर मात्रै १२ जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्ला चार दिनमा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी बागलुङमा १२ जनाको मृत्यु भएको छ। त्यस्तै म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ।
धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपद्का घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




















