सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार अनियन्त्रित भएको जिप सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्।
घाइते आठै जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिप चालक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















