काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।
सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर प्रसाईले टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन्।
प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्। यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।
त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरे मोवाइल, ल्यापटपलगायतका सामग्री लगेको थियो । सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो । प्रसाईलाई सरकारले अनावश्यक दुःख दिने गरेको गुनासो परिवारको छ ।




















