काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यका जोड्ने तीनवटै मुख्य राजमार्गसहित देशभरका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध भएको छ।
सडक विभागका अनुसार काठमाडौं प्रवेश गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। देशभर सातवटा राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा रोकिएको विभागले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गसहित केही सडकखण्डमा भने एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाएपछि यातायात ठप्प भएको छ। लगातार वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको विभागले जनाएको छ।
त्यस्तै, कान्ति राजमार्गअन्तर्गत चपली र तकुर्चेलगायत स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउने काम भइरहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएपछि सडक एकतर्फी सञ्चालनमा छ। सडक पूर्ण रूपमा सञ्चालन गर्न मेसिन परिचालन गरिएको छ।
यस्तै, सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी सडकको सोलुखोलानजिक सडक भासिएपछि भित्तो कटान गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–हटिया खण्डका नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैँसेरी सिरुवारीमा पहिरो गएको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको विभागले जनाएको छ। जैमिनी–८ बेलबगरमा भने स्थानीय यातायातका लागि एकतर्फी सडक खुलाइएको छ।
त्यस्तै, तमोर करिडोरको मुलघाट–फिदिम सडकखण्डअन्तर्गत छरुवा खोला, नवा खोला र रानीगाउँमा नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र पानी घटेपछि सञ्चालन हुने अवस्था रहेको छ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खारखोला–टुनीकोट खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा ल्याइएको र पहिरो तथा ढुंगा हटाउने काम भइरहेको छ।
यसैगरी, बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–खोत्रोमा ढुंगा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरो पन्छाउन कठिनाइ भइरहेको विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध सडक खुलाउन उपकरण तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। लगातार वर्षा भइरहेकाले सडकको अवस्था परिवर्तन हुन सक्ने भन्दै विभागले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



















