काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको कारण देखाउँदै नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेको जनाएको छ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा जोखिम रहेको जानकारी पाएपछि राति नै कार्यालयमा ल्याएर राखिएको बताए। उनका अनुसार जबरालाई कुनै सम्भावित घटनाबाट जोगाउन कार्यालयमा राखिएको हो।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित जबराको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउको औपचारिक कारण भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरी स्रोतका अनुसार जबरालाई नियन्त्रणमा लिनुअघि कुनै अदालतबाट पक्राउ पुर्जी लिइएको थिएन। प्रहरी टोली घरमा पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर आफूलाई प्रहरीले लैजान लागेको जानकारी गराएका थिए।
प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजी समूहबाट सुरक्षा थ्रेट रहेको’ भन्दै जबरालाई नियन्त्रणमा लिएको बताएका थिए। जबरालाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको र भेटघाटमा समेत रोक लगाइएको उनको निकट स्रोतको दाबी छ। जबराका छोरा भने उनलाई भेट्न टेकु पुगेका छन्।
यसैबीच, प्रधानमन्त्रीको सचिवालयबाटै जबरालाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको प्रहरी स्रोतको दाबी छ। सचिवालयले जबराविरुद्ध बलियो प्रमाण रहेको दाबी गरेको छ।
सचिवालय स्रोतका अनुसार जबरामाथि सर्वोच्च अदालतमा मुद्दा मिलाउने क्रममा आर्थिक लेनदेन गरेको तथा जेनजी समूहलाई सरकारविरुद्ध भड्काएको आरोप छ। स्रोतले अदालतमा नियुक्तिदेखि विचाराधीन मुद्दासम्ममा चलखेल गरेको र त्यस क्रममा आर्थिक लेनदेन भएको प्रमाण प्राप्त भएको दाबी गरेको छ।
यस्तै, केही जेनजी समूहलाई सरकारविरुद्ध भड्काएको आरोप पनि जबरामाथि लगाइएको सचिवालय स्रोतको भनाइ छ। यद्यपि, प्रहरीले यी आरोपबारे औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन।
जबरालाई पक्राउ गर्नुपर्ने कारण, कानुनी आधार र पक्राउ पुर्जी जारी भए/नभएको विषयमा प्रहरीले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी छ।




















