काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण दुई दिनदेखि लगातार वर्षा हुँदा काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढेको छ।
लगातारको वर्षासँगै काठमाडौं उपत्यकाको पानी निकास हुने चोभार गल्छीमा बागमती नदीको बहाव बढेको छ। नदी उर्लिएसँगै चोभारमा बाढीको दृश्य हेर्न आउने मानिसको समेत भिड लागेको छ।
जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षा हुने प्रक्षेपण गरेको छ। देशका अधिकांश क्षेत्रमा मौसम बदली रहेको छ भने काठमाडौं उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ।
वर्षाका कारण बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायत नदी तथा खोलामा जलसतह बढेको छ। नदीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी करिडोरका सडकमा आवागमनमा रोक लगाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैदेखि बागमती नदीको जलसतह निरन्तर बढिरहेको छ। जलसतह थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।




















