भक्तपुर । हनुमन्ते खोलाको जलसतह बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार लोकन्थलीको होचो भूभागमा बाढी पस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो।
हालसम्म बाढीको पानी मानव बस्तीमा प्रवेश नगरे पनि खोलामा पानीको चाप निरन्तर बढिरहेकाले सम्भावित जोखिमबाट जोगाउन परिवारहरूलाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले हनुमन्ते खोला आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।



















