काठमाडौं । १५३ विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भक्तिमूलक भजन ‘हरे कृष्ण’ सार्वजनिक भएको छ।
डा. उपाध्यायकै शब्द र स्वरमा तयार भएको भजन काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। भजनमा आध्यात्मिक चेतना, भक्ति र सामाजिक सन्देशलाई समेटिएको छ।
भजनमा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। खेमनाथ खनालको निर्देशनमा बनेको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको सम्पादन र कलर रहेको छ।
भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायतले अभिनय गरेका छन्।
कार्यक्रममा डा. उपाध्यायले साहित्य, गीत–संगीत तथा सिर्जनाका विभिन्न विधामार्फत मनोरञ्जनसँगै आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सिर्जना गर्दै आएको बताए।
गीत–संगीतमा सक्रिय उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्। उनका प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनालगायत विविध विषयमा आधारित गीत सार्वजनिक छन्।
सिर्जनात्मक प्रयोगका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट १५३ विश्व कीर्तिमानका प्रमाणपत्र प्राप्त गरेको उपाध्यायको भनाइ छ। उनका गीत तथा साहित्यिक कृतिमा विभिन्न विषय र शैलीका प्रयोगसमेत हुँदै आएका छन्।
‘हरे कृष्ण’ उनको पछिल्लो सिर्जनात्मक यात्राको कडीका रूपमा सार्वजनिक गरिएको हो।




















