काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथि निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको वैकल्पिक ‘ट्र्याक’ फराकिलो बनाउने काम सुरु गरिएको छ।
पहिरोका कारण सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन गर्ने तयारीस्वरूप मुख्य सडकभन्दा माथिल्लो भागमा रुख तथा झाडी हटाएर ट्र्याक खोलिएको हो। अहिले सोही ट्र्याकलाई थप चौडा बनाउने काम भइरहेको छ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट काम गर्दै डाँडाको माथिल्लो भागमा दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ।
“हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ,” उनले भने।
ट्र्याक खुले पनि सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न भने अझै विभिन्न काम पूरा गर्नुपर्ने आयोजनाले जनाएको छ। माथिल्लो भागको भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने तथा डिजाइनअनुसार पहिरो व्यवस्थापनलगायतका काम बाँकी छन्।
इन्जिनियर मिश्रका अनुसार भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न सकिने गरी कामलाई तीव्रता दिइएको छ।
“अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ। निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन। अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ,” उनले भने।
उनका अनुसार हाल खोलिएको ट्र्याक मुख्यतः निर्माणमा संलग्न कामदारको आवतजावत तथा निर्माण सामग्री र उपकरण ओसारपसारका लागि प्रयोग भइरहेको छ।
नयाँ ट्र्याक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआईभी जेभीले गरेको हो। कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब २० मिटर माथि करिब ३५० मिटर लामो ट्र्याक खोलिएको छ।
“ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्याउन र कामदार आवतजावत गर्न सहज भएको छ,” नेपालले भने, “अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो। सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन।”
उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुंगा थुपार्ने र ग्रेडिङ मिलाउनेलगायतका काम गर्न बाँकी छन्। आपत्कालीन अवस्थामा भने सर्वसाधारण पैदल हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनले बताए।
सडक निर्माणलाई तीव्रता दिन आजदेखि थप भारी उपकरण परिचालन गरिएको छ। दुईवटा एक्साभेटर थपिएसँगै एक्साभेटरको संख्या सात पुगेको छ। त्यस्तै, एउटा जेसिबी, एक लोडर र दुईवटा बुल्डोजर पनि परिचालन गरिएको छ।
निर्माणको आवश्यकता र प्रगतिअनुसार थप उपकरण परिचालन गर्दै जाने निर्माण कम्पनीले जनाएको छ।




















