काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गोरखास्थित २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमे आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी आएको हो।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको उद्धारमा सफल भएपछि न्यौपाने चिलिमेतर्फ जाँदै छन्। उनले उद्धार कार्यमा आफ्नो अनुभव र प्राविधिक ज्ञान प्रयोग गर्न तथा आवश्यक सुझाव दिन आफू चिलिमे जान लागेको बताएका छन्।
न्यौपानेले सामाजिक सञ्जालमार्फत उद्धार कार्यमा आवश्यक परे प्रत्यक्ष रूपमा समेत खटिने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमे आयोजनाबाट ६ जना सम्पर्कविहीन छन्। आयोजनाको साइट कार्यालयमा ७१ जना कर्मचारी कार्यरत रहेकामा अन्य कर्मचारी भने सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको इप्पानले जनाएको छ।
सुरुङभित्र फसेका भनिएका ६ जनाको उद्धारका लागि प्रयास भइरहेको छ।




















