काठमाडौं । आज आइतबार देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित ३६ जिल्लाबाट बग्ने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहनेछ। पछिल्लो समय भोटेकोसी र त्रिशूली नदी आसपासमा बाढीको जोखिमलाई लिएर उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
महाशाखाले दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्रमा बहाव बढ्ने जनाएको छ।
यी जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ। विशेषगरी रसुवा र नुवाकोट भएर बग्ने भोटेकोसी, त्रिशूली तथा अन्य ससाना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाइएको छ।
महाशाखाले नदी तथा खोला किनारमा बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरेको छ।





















