काठमाडौँ । भोटेकोसी–त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका मेकानिकल फोरम्यान सञ्जय साहको १० दिनमा शुक्रबार सकुशल उद्धार गरिएको छ ।
उद्धारपछि उपचारका लागि काठमाडौँ ल्याइएका साहले घटनाका दिन आयोजनामा करिब ४० देखि ४५ जना मानिस रहेको बताएका छन् ।
साहका अनुसार उनी कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए । सामान्य अवस्थामा कन्ट्रोल रुममा ५–६ जना मात्रै रहने भए पनि बाढी आएको दिन आयोजनामा ४०–४५ जना रहेको उनले बताए ।
‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइममा ५/६ जना मात्रै हुन्थ्यौँ। त्यतिबेला ४०/४५ जनै थियौँ,’ उनले भने ।
आफू कन्ट्रोल रुममा भएकाले सबैको ज्यान जोगाउनु आफ्नो जिम्मेवारी ठानेको उनले बताए । दुर्घटना भएपछि आफू एक्लै भाग्नुको साटो अरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दा समय बितेको र अन्तिममा आफू नै सुरुङबाट निस्कन नसकेको उनको भनाइ छ ।
‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुपर्यो। सबैलाई बचाउने क्रममा मैले भनेँ– एक्सिडेन्ट भयो, ठूलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किन पाइनँ,’ उनले भने ।
साहले पावर हाउसमा अझै धेरै मानिस फसेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् ।
‘भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले भित्र लगिसकेको होला,’ उनले भने ।
यही भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा साहसहित केही व्यक्ति फसेका थिए ।
साहसँगै मेकानिकल सुपरभाइजर कविर महर्जनको पनि शुक्रबार सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य भने जारी छ ।




















