काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सबै जना सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले बताएका छन् ।
उद्धारकर्ताले केहीबेरअघि साहसहित कविर महर्जनलाई सुरुङबाट सकुशल बाहिर निकालेका थिए । उद्धारपछि बाहिर आएका साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका हुन् ।
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।
साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।
उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।
बाढीका कारण सुरुङभित्र फसेका उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विदेशबाट आएका उद्धारकर्तालगायतको टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए ।




















