काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
चीनले पठाएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि आवश्यक फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री रहेका छन्।
यसपटक चीनले विपद् उद्धार, आवतजावत सहज बनाउन तथा प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक बेलीब्रिज समेत पठाएको छ। पहिलो चरणमा उपलब्ध गराइने बेलीब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ।
यसैबीच, बाढीमा फेला परेका शव तथा मानव अंगको पहिचान प्रक्रियामा सहयोग गर्न चीनबाट फरेन्सिक विज्ञहरूको टोलीसमेत नेपाल आएको छ।

चौथो खेपअन्तर्गत १० जना चिनियाँ फरेन्सिक विज्ञ नेपाल आएका हुन्। उनीहरूले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी शवको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछन्।
चीनले भोटेकोसी बाढी प्रभावितका लागि राहत सामग्री पठाउने क्रमलाई निरन्तरता दिएको छ। यसअघि पनि चिनियाँ पक्षबाट राहत सामग्रीका विभिन्न खेप नेपाल ल्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।
सो अवसरमा मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञहरूको टोलीलाई स्वागत गरेका थिए।




















