काठमाडौं । गायिका एलिना चौहानले विपद्का बेला शोकमा डुबेर घरमै बस्नुभन्दा दुःखलाई शक्तिमा बदल्दै पीडितका लागि काम गर्नुपर्ने बताएकी छन्।
अष्ट्रेलियामा विभिन्न सांस्कृतिक कार्यक्रमका लागि पुगेकी चौहानले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आफू १४ वटा कार्यक्रमका लागि अष्ट्रेलिया पुगेको र त्यसमध्ये ६ वटा कार्यक्रम रद्द भएको जानकारी दिएकी छन्।
नेपालमा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला सबै नेपालीको मन नेपालमै रहेको उल्लेख गर्दै उनले त्यतिबेला आफूहरू पनि गहिरो पीडामा रहेको बताएकी छन्।
‘सबैको विचार फरक हुन्छ। म चाहिँ शोक मनाएर, रोएर घरमै बस्नुभन्दा शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने मान्छे हुँ,’ उनले लेखेकी छन्।
उनले दुःख व्यक्त गर्नु र शोक मनाउनु स्वाभाविक भए पनि त्यसलाई कर्ममा बदल्न सके मात्रै त्यसको अर्थ अझ ठूलो हुने बताएकी छन्।
‘रोएर घरमै बसेर मात्र के हुन्छ? त्यसले राहत पुग्छ? घाइतेलाई उपचार हुन्छ? पीडितको घर बन्छ?’ उनले प्रश्न गरेकी छन्।
चौहानले विपद्मा घाइते भएको देशलाई सहयोग गर्न आफूहरूले सांस्कृतिक कार्यक्रममार्फत आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेको बताएकी छन्। कसैको जीवन बचाउन च्यारिटी कार्यक्रम गरेजस्तै अहिले देशमा परेको संकटमा मलम लगाउन कार्यक्रम गरिरहेको उनको भनाइ छ।
उनका अनुसार सांस्कृतिक कार्यक्रमबाट ५० देखि ६० लाख रुपैयाँसम्म नेपालका लागि जुटाउन सकिए त्यसले घाइतेको उपचार, पीडितको घर निर्माण तथा प्रभावित परिवारको चुलो बाल्न सहयोग पुग्न सक्छ।
‘शोक मनाउनु गलत होइन। दुःख व्यक्त गर्नु स्वाभाविक हो। तर दुःखलाई त्यहीँ रोक्नुको सट्टा त्यसलाई कर्ममा बदल्न सकियो भने त्यसको अर्थ अझ ठूलो हुन्छ,’ चौहानले भनेकी छन्।
उनले यसअघि सम्पन्न दुईवटा कार्यक्रमबाट पनि नेपालका लागि सहयोग गरिसकेको र अब हुने अर्को कार्यक्रमबाट उठेको सम्पूर्ण रकमसमेत नेपाल पठाउने उद्देश्य रहेको बताएकी छन्।
चौहानले आफूले सामाजिक सञ्जालमा आलोचना र गाली खेप्नुपरे पनि पीडितका लागि आफ्नो तर्फबाट काम गर्न नछोड्ने स्पष्ट पारेकी छन्।
‘मलाई जति गाली गर्नुस्, जति नराम्रो भन्नुस्, म आफ्नो ठाउँबाट काम गर्न छोड्ने छैन,’ उनले लेखेकी छन्, ‘मानिसले जे मूल्याङ्कन गरे पनि राम्रो कामको मूल्याङ्कन भगवानले गर्नुहुन्छ भन्ने विश्वास छ।’




















