काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।
बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका बेवारिसे शव र मानव अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न प्रहरीले बेपत्ता व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आह्वान गरेको हो।
नेपाल प्रहरीले स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका पहिलो पुस्ताका नातेदारमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाको डीएनए नमुना आवश्यक पर्ने जनाएको छ।
स्वदेशमा रहेका आफन्तले के गर्ने ?
स्वदेशमा रहेका आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित भई डीएनए परीक्षणका लागि ताजा रगतको नमुना दिनुपर्नेछ।
यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब, काठमाडौं वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
विदेशमा रहेका आफन्तले के गर्ने ?
विदेशमा रहेका नेपाली वा विदेशी नागरिकका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ।
प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्ने प्रहरीले जनाएको छ।
इमेलमार्फत विवरण पठाउँदा डीएनए परीक्षण गराउने व्यक्ति र बेपत्ता व्यक्तिको पूरा नाम तथा राष्ट्रियता, राहदानी वा आधिकारिक परिचयपत्रको विवरण, व्यक्ति हराएको मिति र सम्भावित स्थान तथा मान्यताप्राप्त प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलिङ रिपोर्ट समावेश गर्नुपर्नेछ।
साथै, डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता पनि स्पष्ट रूपमा खुलाउनुपर्ने प्रहरीले जनाएको छ।
डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी र प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरेलाई सम्पर्क अधिकारी तोकेको छ।
प्रहरी निरीक्षक शम्भुबहादुर केसी : ९८४१६१६०९५
प्रहरी नायव निरीक्षक विष्णु घिमिरे : ९८५७०९१०१३
भोटेकोशी बाढीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएको र कतिपय शव तथा मानव अंग क्षतविक्षत अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउन डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।





















