काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै पीडित परिवारले सरकार र निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गरेका छन्।
आयोजनामा कार्यरत सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्तहरू उद्धार कार्यलाई तीव्र बनाउन माग गर्दै निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेका छन्।
उनीहरूले बाढी गएको सातौँ दिनमा मात्र सुरुङभित्र फसेकाहरूको उद्धार कार्य सुरु गरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।
कम्पनीको कार्यालय पुगेका काँकडभिट्टाका कृष्ण खरेलले सुरुङमा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप लगाए।
‘अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकहरूमाथि निर्माण कम्पनी र राज्य दुवैतर्फबाट पशुवत् व्यवहार भइरहेको छ,’ उनले भने।
बाढीले आयोजनाको कार्यालयसमेत बगाएकाले सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकको यकिन तथ्यांक उपलब्ध नभएको बताइएको छ। तर, यस विषयमा निर्माण कम्पनीले पर्याप्त संवेदनशीलता नदेखाएको पीडित परिवारको आरोप छ।
खरेलले आफ्ना आफन्तको खोजीका लागि स्वयं टोली परिचालन गर्न खोज्दा सरकारले अनुमति नदिएको र राज्यले समेत समयमै प्रभावकारी उद्धार नगरेको गुनासो गरे।
उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि आक्रोशित पीडितहरूले सोमबार साँझ कम्पनीको कार्यालयमा तोडफोड गर्नुपरेको उनको भनाइ छ।
‘हामी आफैँ हराएका आफन्त खोज्छौँ भन्दा अनुमति दिइएन। छ वटा हेलिकप्टरसहित सगरमाथा उद्धार टोलीलाई अनुमति दिलाउन हामी आफैँले आर्मी चिफ र गृह मन्त्रालयका सचिवसँग कुरा गर्नुपर्यो,’ उनले भने, ‘बाढी गएको सातौँ दिनमा मात्र अहिले उद्धार कार्य सुरु भएको छ।’
खरेलका अनुसार हालसम्म ८७ जना सम्पर्कविहीन भएको सूची प्राप्त भएको छ। तीमध्ये ४३ जना सुरुङभित्रै रहेको जानकारी आएको उनले बताए।
सुरुङभित्र ठूलो ढुंगाले बाटो अवरुद्ध गरेको बताउँदै उनले उद्धारका लागि प्राविधिक टोली आवश्यक रहेको बताए। ‘अहिले जेनेरेटरको व्यवस्था गर्दैछौँ। यति सानो कुरा पनि सरकारले हेरेको छैन, मान्छे मरिरहेका छन्,’ उनले भने।
सरकारले मंगलबार मात्र जलविद्युत् निर्माण कम्पनीहरूलाई उद्धार कार्य सञ्चालनका लागि अनुमति दिएको बताइएको छ।
रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब नौ सय जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।




















