काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ७ सय ६८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ७ सय ६८ जनाको शव बरामद गरिएको हो।
प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै २ सय ६४ शव चितवनमा फेला परेका छन्। यस्तै, पूर्वी नवलपरासीमा १ सय ९४, पश्चिम नवलपरासीमा १ सय, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म २ हजार ७ सय १५ जना घाइते तथा अन्य प्रभावित व्यक्तिको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये १ सय ६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकाय र सरोकारवाला संस्थाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।




















