काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि धादिङको कृष्णभीर क्षेत्रमा नदीले तलबाट सडक कटान गरेको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक केही स्थानमा भासिएको छ, जसका कारण सडकमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
उक्त सडक आज बिहान केही समय अवरुद्ध भएपछि सञ्चालनमा आएको थियो। तर, नदीमा पानीको बहाव थप बढ्दै गएपछि केही समयमै सडक पुनः पूर्णरूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौं–मुग्लिन सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्। सम्बन्धित निकायले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



















