काठमाडौं । पछिल्लो समय परेको भारी वर्षाका कारण देशका विभिन्न नदीमा जलसतह बढ्दै गएको छ। केही नदीमा जलसतहले सतर्कता तथा खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको महाशाखाले जनाएको छ।
यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीमा पनि जलसतह थप बढ्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले नारायणी नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, सुनकोशी नदीको सिन्धुलीस्थित खुर्कोट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। नदी किनार आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक जिल्लामा धेरै भारी वर्षा मापन भएको थियो। सो क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण तल्लो तटीय क्षेत्रमा रहेका नदी तथा खोलामा पानीको बहाव र जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।



















