काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार कार्य बिहीबार बिहानैदेखि तीव्र पारिएको छ। दिउँसो साढे १२ बजेसम्म हेलिकप्टरमार्फत ३३६ जनाको सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार उद्धार गरिएकामध्ये ६ देशका ४५ जना विदेशी नागरिक पनि रहेका छन्।
बिहीबार बिहानदेखि टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट प्रभावितलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाले करिब चार हजार फौज परिचालन गरेको जनाएको छ। सेनाले घाइतेको खोजी र उद्धारसँगै आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको कामसमेत गरिरहेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई निरन्तरता दिइएको छ भने आवश्यकताअनुसार थप जनशक्ति र स्रोतसाधन परिचालन गर्ने तयारी पनि गरिएको छ।




















