काठमाडौं । नेपाली सेनाले रसुवामा आएको भीषण बाढीमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ। उद्धार कार्यका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयले नेपाली सेनालाई उद्धृत गर्दै दिएको जानकारीअनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।
बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिइएको जनाइएको छ। आवश्यकताअनुसार थप उद्धार कार्यका लागि सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्र परिचालन भएका छन्।




















