हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप पेचिलो बनेको छ। मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्न राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यलाई विपरीत निर्देशनसहित छुट्टाछुट्टै ह्विप जारी गरेका छन्।
राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी थिइन्।
तर, सोही दिन राप्रपा संसदीय दलका प्रमुख सचेतकका रूपमा डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भएको छ। उक्त पत्रमा प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
डम्बर तामाङले जारी गरेको ह्विप दलको बैठकको निर्णय तथा राप्रपा संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले कुमारी तामाङलाई सरकार गठन हुनुअघि नै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएको बताइएको छ। तर, तामाङको नामबाट विपक्षमा मतदान गर्न जारी भएको ह्विप र डम्बर तामाङको नामबाट पक्षमा मतदान गर्न जारी भएको अर्को ह्विपले राप्रपा सांसदहरूलाई अन्योलमा पारेको छ।
राप्रपा संसदीय दलभित्र यसअघि नै मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा विवाद देखिँदै आएको थियो। एक पक्षले प्रदेश संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी गर्दै आएको छ भने पार्टीको केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयविपरीत भएको बताउँदै आएको छ।
यससँगै प्रदेशसभामा राप्रपाको आधिकारिक संसदीय दलको निर्णय र ह्विप कसको मान्य हुने भन्ने प्रश्नसमेत थप पेचिलो बनेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिन लागेकै बेला राप्रपाभित्र देखिएको विभाजनले प्रदेश सरकारको समीकरणलाई समेत अन्योलपूर्ण बनाएको छ।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। मुख्यमन्त्रीको आफ्नै दल नेकपा एमालेले पनि सांसदहरूलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि प्रदेशसभाका बहुमत अर्थात् कम्तीमा ५३ जना सदस्यको समर्थन आवश्यक पर्छ। नेकपाका २६ र एमालेका २५ गरी सत्तापक्षसँग ५१ जना सांसद मात्रै छन्।
उपसभामुख अप्सरा चापागाईंले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था भएकाले मुख्यमन्त्रीलाई बहुमत जुटाउन अन्य दलको समर्थन आवश्यक देखिएको छ। यही कारण प्रदेशसभाको चौथो ठूलो दल राप्रपाको भूमिका निर्णायक बन्न सक्ने देखिन्छ।
हाल १०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन्।
राप्रपा आफैं दुई समूहमा विभाजित भई एउटै विषयमा फरक–फरक ह्विप जारी गरेपछि मुख्यमन्त्री थापाले अन्ततः कति सांसदको समर्थन पाउने हुन् भन्ने यकिन हुन सकेको छैन। सोमबारको मतदानले मुख्यमन्त्रीको सत्ता यात्रा मात्र होइन, राप्रपा बागमती प्रदेश संसदीय दलभित्रको शक्ति संघर्षको दिशा पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ।




















