काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको छ।
क्राइम थ्रिलर तथा पारिवारिक ड्रामा जनरामा निर्माण भएको फिल्मले आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरेको छ। छोरीको सुरक्षाका लागि एक आमाले कति टाढासम्म जान सक्छिन् भन्ने विषयलाई फिल्मको मुख्य कथावस्तु बनाइएको निर्माण टिमले जनाएको छ।
फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी र दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ।
यस फिल्ममार्फत प्रियंका कार्कीले पहिलोपटक चलचित्र निर्माणमा समेत हात हालेकी छन्। फिल्मलाई प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।
सुवेन्दु घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’को कथा प्रियंका कार्कीले लेखेकी हुन्। फिल्मको पटकथा शान बस्नेतले तयार पारेका छन् भने संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।




















