हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका किरण थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। प्रदेश प्रमुखको कार्यालयले आज अपराह्न ४ः०५ बजे मुख्यमन्त्री नियुक्ति गर्ने र ४ः२० बजे शपथग्रहण समारोह आयोजना गर्ने जनाएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनसहित निवेदन प्राप्त भएको छ। सोही निवेदनका आधारमा नयाँ सरकार गठनसम्बन्धी प्रक्रिया अघि बढाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
राप्रपाभित्र भने बागमती प्रदेश सरकारलाई समर्थन गर्ने विषयलाई लिएर विवाद चर्किएको छ। पार्टीको केन्द्रीय निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको आरोपमा राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापासहित केही नेतामाथि कारबाहीको तयारी गरेको छ।
केन्द्रीय नेतृत्वले सरकार गठनका लागि दिइएको समर्थनलाई पार्टीको आधिकारिक निर्णय नमानिरहेको अवस्थामा प्रदेश प्रमुखले भने राप्रपाको दलीय समर्थनसहित आएको निवेदनलाई स्वीकार गर्दै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका हुन्।




















