काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणसँग जोडिएको १८ करोड रुपैयाँभन्दा बढी ऋणको भार र अधुरा सपना बोकेर फेरि अमेरिका फर्किएका छन्।
नेपाल फर्किएको दुई महिनासम्म रंगशाला निर्माणका क्रममा सिर्जित ऋण समस्या समाधानका लागि विभिन्न निकाय धाउँदा पनि अपेक्षित सहयोग नपाएको भन्दै उनले भावुक स्टाटस सार्वजनिक गरेका छन्।
धुर्मुसले सामाजिक सञ्जालमार्फत आफू न्याय पाउने र आफ्नै देशमा फेरि सिर्जनात्मक यात्रालाई निरन्तरता दिने ठूलो आशाका साथ छोरीसहित मातृभूमि फर्किएको बताएका छन्। तर, दुई महिनासम्म राज्यका विभिन्न निकाय र सरोकारवाला पक्षसँग पहल गर्दा पनि आफ्नो आवाज नसुनिएको उनको गुनासो छ।
उनले लेखेका छन्, “यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ।”
रंगशालासँग सम्बन्धित समस्या समाधानका लागि राज्यका ‘ढोका–ढोका’ पुगे पनि आफ्नो पीडा खुलेर सुनाउने अवसरसमेत नपाएको उनले बताएका छन्।
उनका अनुसार समस्या समाधान हुनुको साटो भरतपुर महानगरपालिकाबाट विनियोजन भएको १५ करोड रुपैयाँको बजेटसमेत फ्रिज हुने अवस्था आएको छ। “१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,” उनले लेखेका छन्।
आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे बनेको अनुभूति भएको भन्दै धुर्मुसले इमानदारीका साथ समाज र राष्ट्रका लागि केही गर्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उठाएका छन्।
उनले आफ्नो जीवनको १० वर्ष समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही भएको टिप्पणी गरेका छन्।
“मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्,” उनले लेखेका छन्, “तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ।”
कुनै दिन राज्यले आफ्नो संघर्ष सम्झिने, समयले सत्य बोल्ने र आफ्नो पीडा सुनिने विश्वाससमेत उनले व्यक्त गरेका छन्। संघर्षको मूल्य बुझिने दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनु नपर्ने उनको भनाइ छ।
धुर्मुसले चाँडै नै फेरि दर्शक तथा शुभेच्छुकहरूसँग भेट हुने आशा व्यक्त गर्दै सबैप्रति मुटुभरिको माया र सम्मान व्यक्त गरेका छन्।





















