हेटौंडा । नेकपा (एमाले) का किरण थापा मगरले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन्।
थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्।
एमाले र नेकपाबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। त्यसअनुसार एमाले संसदीय दलले मंगलबार थापा मगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
हाल १०४ सदस्य कायम रहेको बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यससँगै उनको पक्षमा ६३ सांसदको समर्थन पुगेको छ।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको थियो। राप्रपाको समर्थन जुटेसँगै एमाले–नेकपा गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको छ।
प्रदेश प्रमुखले थापाको दाबीको प्रक्रिया पूरा गरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ। थापालाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको बताइएको छ।




















