काठमाडौं । बागमती प्रदेशमा नेकपासँग सत्ता गठबन्धन गरी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले बहुमत जुटाउन अन्य दलसँग वार्ता गर्न समिति गठन गरेको छ।
एमालेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सार्ने निर्णय गरेको छ। बैठकले जगन्नाथ थपलियालाई प्रदेश संसदीय दलको नेतामा निरन्तरता दिने निर्णयसमेत गरेको छ।
मुख्यमन्त्रीका लागि प्रस्तावित थापाकै संयोजकत्वमा अन्य दलसँग सहकार्य र सरकार गठनबारे वार्ता गर्न समिति बनाइएको हो। समितिमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा सदस्य रहेका छन्।
बागमती प्रदेशसभा १०४ सदस्यीय छ। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ भने नेकपाको २६ र नेकपा एमालेको २५ सिट रहेको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेपाल मजदुर किसान पार्टीको ३ तथा हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ। राप्रपाले भने सरकार गठनको प्रक्रियामा तटस्थ बस्ने निर्णय गरिसकेको छ।
नेकपा र एमालेसँग मिलेर ५१ सांसदको समर्थन रहेकाले सरकार गठनका लागि थप दुई सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले बहुमत सुनिश्चित गर्न साना दलको सहयोग अपरिहार्य बनेको छ।
यही अवस्थालाई ध्यानमा राख्दै एमालेले किरण थापाको संयोजकत्वमा वार्ता समिति गठन गरी अन्य दलसँग सहकार्यका लागि संवाद अघि बढाउने तयारी गरेको हो।




















