हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ निवासी ३२ वर्षीय छुनिलाल चौधरी, रजिस्ट्रार बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।
काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७ बजे अनियन्त्रित भएर सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनालगत्तै स्थानीय र प्रहरीले घाइतेहरूको उद्धार गरी भीमफेदी अस्पताल पुर्याएका छन्। गम्भीर घाइते उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, दुर्घटनामा घाइते भएका रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल लगिएको छ।




















